नारीहरुमा सम्बोधन

हजुरआमाहरुलाई मेरो संबोधन,
मेरी हजुरआमा ७७ वर्षकी हुनुभो, यो उमेरसमुहका सबैमा मेरो सम्बोधन

प्यारी हजुरआमाहरु, तपाईंहरुले सबैभन्दा धेरै घटना, परिवर्तन, आन्दोलन, लहड र दुनिया देख्नु भएको छ। ढुंगा ठोकेर दियालो बाल्ने देखि स्विच थिंचेर बल्ने आँखै खाने बिजुली बत्ति तपाईं आफैले देख्नुभएको छ। तपाईंले यो पनि देख्नु भएको छ कि समय कसरि परिवर्तन हुँदो रहेछ, मान्छे कसरि फेरिँदो रहेछ, सरकार र राज्य कसरि समय अनुसार बदलिंदा रहेछन्, समयले कसरी कोल्टे फेर्दो रहेछ। यो सब हजुरहरुले नजिकबाट देख्नु भएको छ। तपाईंले पढ्न पाउनु भएन, तर तपाईंकी अलिअलि पढेकी बुहारीले तपाईंलाई वृद्द भत्ताको पैसा गन्न सिकाएकी छन्, तपाईंकी नातिनीले तपाईंले बिहान र वेलुका खाने औषधि चिन्हो लगाएर राखिदिएकि छ। परदेश गएको तपाईंको छोरालाई मोबाईलमा फटाफट तपाईंकी पढेलेखेकी छोरीले लगाईन्दिन्छे।
हेर्नुस् त बुहारी-नातिनी पढेका हुँदा तपाईंलाई कति फाइदा भो

आमाहरुलाई मेरो संबोधन,
मेरी आमा ५० वर्षकी हुनुभो, यो उमेरसमुहका सबैमा मेरो सम्बोधन

प्यारी आमाहरु, तपाईं संक्रमणकालिन अवस्थाको साक्षी हुनुहुन्छ। राजा र नाराको अर्थ तपईंले बडो राम्रोसंग बुझ्नु भएको छ। पढाई र पराइको हाइब्रिड अनुभव छ हजुरहरुमा। जतिले पढ्नुभो, पढेर कहाँ पुग्न सकिँदो रहेछ राम्रोसंग बुझ्नु भएको छ। जातिले पढ्ने अवसर पाउनु भएन, पढेको भए कहाँ पुगिन्थ्यो, यसको राम्रो ज्ञान छ हजुरहरुमा। दाउरा र बिजुली दुवै मजा संगै खेलाउन पाउनुभो तपाइंले, दुई घण्टा उकालो-ओरालो हिंडेर एक गाग्री पानि ल्याउनुभो केहि दशक अघि, अहिले एक स्विचमा मोटर लगाएर पानि आफै पानि तान्दै हुनुहुन्छ। तपईनकी छोरीले तपाईंलाई दैनिक नयाँ कुरा सिकाउँदि हो, फेसबुक चलाउन, च्याट गर्न, युट्युबमा सिरियल हेर्न आदि इत्यादी। तपाईंकी सासुआमा, आमाले तपाईं संग कति प्रश्न सोध्नुहुन्छ होला है, जस्तो कि, यो औषधी के हो, नागरिकता देखाएर मेरो उमेर कति भो, आज कुन तिथि हो, वृद्द भत्ता बुझेर आउँदा पैसा गन्देर कति छ भन्दै अनेक प्रश्न गर्नुहुन्छ होला है। तपईंले आफ्ना बच्चाहरुलाई आफै क-ख सिकाउनु भो, आफै कलम समात्न सिकाउनु भो, कति मजा आउँछ है। तपाईंले अलिअलि पढ्दा कति फाइदा भयो हेर्नु त

संगी-साथीहरुलाई संबोधन,
मेरो उमेर २३ वर्ष पुग्यो, यो उमेरसमुहका सबैमा मेरो सम्बोधन

प्यारा साथीहरु, घरमा आमाले सधैजसो सुनाउनुहुन्छहोला, “यसलाई कस्तो लोग्ने पर्दोहो”, “यसले कसरी घर गरेर खाली”, “यसको कस्तोमा विहे होला”, “अहिलेसम्म खाना पनि पकाउन आउँदैन” आदि इत्यादि। साह्रै नमज्जा लाग्छ होला है। यत्रो पढेर पनि मैले लोग्ने कस्तो पर्छ भनेर चिन्ता लिनुपर्ने भनेर। आमाहरुले सायद आफ्नो अनुभव साट्नुभएको हो। तपाईंले आफ्नी छोरीलाई यहि कुरा दोहोराउन नपर्ने स्तिथि ल्याउने जिम्मा तपाईं आफ्नै हो। बुझ्ने हुनुहुन्छ, बाँकी हजुरको कुरा हो। अबको समय कस्तो हुने, यो तपईंको सोंचमा भर पर्छ।

बहिनी, छोरी, भतिजीहरुमा संबोधन,
मेरो उमेर २३ वर्ष पुग्यो, म भन्दा साना सबैमा मेरो सम्बोधन

तपाईकी हजुरआमा, वृद्द भत्ताको पैसा गन्न देखि औषधी केलाउन तपाईंकै सहारा लिनुहुन्छ। यसो सोच्नुस त, त्यो उमेरमा तपाईं पुग्दा यो सबै काम तपाईं आफैले गर्न सक्नुहुन्छ। तपाईं आमा बन्दासम्म, बदलिँदो समयको बढ्दो चाहना तपाईं बुझ्न सक्नुहुन्छ। तपाईं हजुरआमा बन्दासम्म, नयाँ युगको उठबस बुझ्न सक्नुहुन्छ। अबको भविष्य कस्तो हुने, यो तपईंहरुले गर्ने निर्णय हो।

एक साझा संबोधन सबैमा,

गणितमा माइनस-माइनस मिल्दा प्लस जरुर होला, तर जिन्दगीमा दुई गलत कुरा मिलेर सहि कहेले बन्दैन !

जय होस् !!!

Thumbnail Picture by Pete Johnson from Pexels

Comments
Share This