“गोलो-गोलो अन्डा,
पुलिसको डन्डा,
स्वर्ग जाने बाटो,
हनुमानको पुच्छर”
मैले “क” लेख्न नजानेकोमा चिन्तित
चिन्तामणी सरले भट्याएको हरफ हो यो।
मैले पहिलो पटक “क” लेख्दा,
कसैले मेरो गोजिभरी सुन्तले मिठाई भरिदिएको थियो
र म स्कुलबाट भागेर काफल खान जाँदा,
कसैले मेरो खबर म भन्दा पहिल्यै घर पुर्याईदिएको थियो !
कहिले शिक्षक, कहिले आमा जस्तो त कहिले जासुस,
यहाँ, एक पात्र
अनेकौं रुपमा देखा पर्यो
तर सदा मेरो साथ देखा पर्यो
जसलाई गुरु भनियो।
मेरो सलाम
मलाई हिँड्न सिकाउने आमालाई सलाम
मलाई जिन्दगी बुझाउने बालाई सलाम
मलाई अक्षर चिनाउने शिक्षकलाई सलाम
अनुशासन सिकाउने लाम्बद्द कमिलालाई सलाम
श्रम सिकाउने माहुरीलाई सलाम
मेरो सलाम,
सम्पुर्ण गुरुहरुमा सलाम
मेरो आग्रह
ती प्रत्येक गुरुहरुलाई
डोर्याई रहनु ती प्रत्येक
हराएका, विराएका, भट्किएका आत्महरुलाई,
जस्तो कि,
वैंसको मातमा
उर्लि आएको कर्णालीलाई पनि
सोझाई लान्छन् किनाराहरु