Skip to content

मन्दिरमा कमरेड

मन्दिरमा बसेर कमरेड,
सुन्नुहुन्छ घण्टको टिङ्निङ्
अनि ताल मिलाउनुहुन्छ नारासँग
हेर्नुहुन्छ पुजारीको झुस्स दारी
तुलना गर्नुहुन्छ मार्क्सको दारीसँग
मन्दिरमा बसेर कमरेड ,
हेर्नुहुन्छ फुलहरु
अनि सलाम गर्नुहुन्छ मालिका हातहरुलाई।।

मन्दिरमा बसेर कमरेड,
देख्नुहुन्छ चढाईएको प्रसाद,
पोखिएको गाईको दूध
र सम्झनुहुन्छ अघि भर्खर बाटोमा
भोकले आँसु सुकाएको बालक ।
मन्दिरमा बसेर कमरेड
हेर्नुहुन्छ भक्तहरुको लाईन
तुलना गर्नुहुन्छ
महिनाको अन्तमा ज्याला थाप्न बसेका ज्यामिहरुसँग
ठिक त्यति वेला,
एक भद्र मान्छे
सबैलाई पन्छाएर
छालाको जुत्तासँगै मन्दिरमा जल चढाउँछ
अब कमरेड, बल्ल बुझ्नुहुन्छ
त्यही भद्र मान्छे न देउता हो
जो मन्दिरको सहारामा स्कुल भत्काईरहेछ
हो त्यही दिन कमरेड
मन्दिर छोडेर
देउताको विरुद्धमा क्रान्ति सुरु गर्नुहुन्छ।

==============================
मध्यान्ह १२:३० बजे
२०१८, डिसेम्बर २३
बुढासुब्बा, धरान

Comments Box